५९ औं राष्ट्रिय सहकारी दिवस सफल पार्न योगदना गर्ने सबै प्रति आभार प्रकट गर्दछौं ।

 

“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुख्य ध्येयका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ साल चैत्र २० गते राष्ट्रव्यापि रुपमा भष्यताका साथ सम्पन्न भयो । देशका सात वटै प्रदेशका प्राय सबै जिल्लामा कार्यक्रम भएको छ । झपादेखि कञ्चनपुरसम्म र पशुपति नगरदेखि झूलाघाट सम्मका प्राय सबै जिल्लाले राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाए । अधिकांस स्थानमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र डिभिजन सहकारी कार्यालयसँग मिलेर संयुक्त रुपमा मनाए । यो वर्षको मूल थिम (ध्येय)का आधारमा, विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको खबर प्राप्त भएको छ । जस्तै:  निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, रक्तदान कार्यक्रम, सभा गोष्ठी, वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण, विभिन्न विषयका उत्कृष्ट व्यक्तिहरुमा पुरस्कार, सम्मान र कदर–पत्र वितरण गरेर प्रोत्साहन गर्नुभयो । २० चैत्रमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारका पोशाक, झाकि, बाजागाजाका साथ र्याली र सभाहरु आयोगना भए । मोरङ, झापा, कास्की, काठमाडौं, ललितपुर,  नेपालगंज,  हेटौंडा लगायत देशका प्राय सबै जिल्लामा हजारौं हजारको र्याली सहित कार्यक्रम भए । इलाम, पाँचथर, दोलखादेखि मुगु सम्मका जिल्लामा भएको उत्साहवर्धक कार्यक्रममा लाखौं सहकारीकर्मी आ–आफ्नो व्यानरका साथ सडकमा उत्रिए । रक्तदानमा नेपालगंजले ३३४ पिन्ट रक्तदान गरेर देशै भरिको रक्तदानलाई उछिनेको छ । यो कार्यक्रममा अगुवाई गर्ने, साथ सहयोग दिने, सहभागि हुने,  रक्तदान लगायतका कार्यक्रममा योगदान गर्ने सहकारीका अगुवा र सहभागि,  सरकारका उपप्रधानमन्त्री देखी लिएर सबै तहका जिम्मेवार व्यक्ति, संघसंस्था र सहभागि सबैमा हार्दिक सम्मान जाहेर गर्न चाहन्छौं र धन्यवाद दिन चाहन्छौं ।

Keshab Prashad Badal

केशवप्रसाद बडाल
व्यवस्थापिका संसद सदस्य,
अध्यक्ष, राष्ट्रिय सहकारी संघ,
अध्यक्ष, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद

 

नेडाक बैठक, फिलिपिन्स र सहकारी क्षेत्रले सिक्नु पर्ने विषय

एशिया प्रशान्त क्षेत्रका कृषि सहकारी विकासका लागि क्षेत्रीय संजाल, नेडाक (Network for Development of Agricultural Cooperative in Asia and Pacific, NEDAC) को वैठक यसपाली फिलिपिन्सको दक्षिणी टापु भिण्डनाओको “कागायानदि ओरो” मा भएको थियो ।

 

एशिया प्रशान्त क्षेत्रमा विश्वको दुई तिहाई मानिसहरू बस्दछन् । यो क्षेत्रको मूल उत्पादनका साधन भूमि र उत्पादकशक्ति किसान हुन् । यो क्षेत्रमा छरिएको श्रोत साधन, पूँजी र श्रमलाई परिचालन गर्न कृषि सहकारीको आवश्यकता पर्छ । यसका लागि कृषि सहकारीको स्थापना, विकास र विस्तार गर्न एउटा क्षेत्रीय तहको अलगै संगठनको आवश्यकता महसुस गरी सन् १९८० मा विश्व खाद्य संगठन (FAO), अन्तर्राष्ट्रिय सहकारी महासंघ (ILO) र विश्व श्रम संगठन (ILO) को मन्त्रीस्तरीय वैठक बसेर नेडाकको स्थापनाको लागि सोच वनाएको थियो ।  फलस्वरूप यस एशिया प्रशान्त क्षेत्रका १० देशका सहकारी संघहरू मिलेर सन १९९१ मा नेडाकको स्थापना भएको थियो ।

एशिया प्रशान्त क्षेत्रका धेरै देशहरूमा अभाव, गरीवी, भोकमरी र प्राकृतिक विपत्तिबाट करौडौ जनताहरू आक्रान्त भइरहेका छन् । FAO, ICAILO को पहलमा गठित भएको नेडाकले यी समस्याहरूको समाधानको लागि सक्रियता देखाउने हो भने निकै महत्वपूर्ण तथा राम्रो नतिजा ल्याउन सक्दछ । संगठनको वैठक यही १९ देखि २३ जनवरी २०१६ मा फिलिपिन्सको कागायानदिओरो शहरमा भएको थियो ।  

 

फिलिपिन्स र सहकारीका समस्या

फिलिपिन्स दक्षिण पूर्व एशियामा अवस्थित एउटा सुन्दर देश हो । जमिनको क्षेत्रफल ३ लाख वर्गकिलो मिटर छ । ७ हजार १ सय ७ टापुहरूले वनेको यो देश ती टापुहरू बीचकोे आफ्नो इलाका मानेको समुन्द्री क्षेत्रफल २२ लाख वर्ग किलोमिटरमा फैलिएको छ । सन् १५२१ बाट ३ सय वर्ष भन्दा लामो समय स्पेनिस उपनिवेश, त्यसपछि जापानको नियन्त्रण, जापान अमेरिका युद्धपछि फेरि अमेरिकी उपनिवेश हुँदै दोश्रो विश्वयुद्ध पछि सन् १९४५ बाट फिलिपिन्स स्वतन्त्र हुँदै अघि बढेको हो । लुजान, भिसायास र भिण्डानाओे जस्ता ठूला र अन्य स–साना टापुहरूबाट बनेको यो देश १८ क्षेत्र (Region), ८१ प्रान्त (Province) १४८ वटा शहर (Cities), १४८९  नगरपालीका (Municipalities) र ४२०२९ वडा (Barangays) मा प्रशासनिक रूपमा विभाजित छ ।

 फिलिपिन्स बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक भएको केन्द्रिकृत धर्मनिरपेक्ष राज्य हो । कुनै पनि समुदायको वाहुल्यता नभएको अल्पसंख्यकहरूको देश हो । सबैभन्दा धेरै समुदाय २८.१ प्रतिशत छन् भने १ प्रतिशत भन्दा कम समुदायहरू पनि धेरै छन् । क्रिश्चियन ७५ प्रतिशत, मुस्लिम १० प्रतिशत, बुद्धिष्ट १ प्रतिशत र अरू स–साना समूह भएको यो देश धर्म निरपेक्ष एकात्मक राज्यको रूपमा रहेको छ ।

दोस्रो विश्वयुद्ध पछिको अवस्थामा पूर्वी एशियामा जापानपछिको सम्पन्न देश फिलिपिन्स थियो । तर सन् १९६० पछि मार्कोसका निरंकुश तानासाही व्यवस्थाको अवधिमा पूर्वी एशियाको सबैभन्दा गरीव राष्ट्र फिलिपिन्स नै बन्न पुग्यो । अहिले फिलिपिन्सका ४५ प्रतिशत जनता दैनिक २ डलरभन्दा कम आयबाट आफ्नो गुजारा चलाउन बाध्य छन् । १० करोड जनसंख्या भएको फिलिपिन्सबाट १ करोड २० लाख जनता विश्वका विभिन्न देशमा श्रमिकका रूपमा बाहिरिएका छन् ।

फिलिपिन्सको सहकारी आन्दोलनका अगुवा मोरडिनो रोड्रिगोज कूवा (Mordino Rodriguez Cua) आफ्नो किताव माइ कोअपरेटिभ जर्नीमा लेखेका छन्– “सहकारीको स्वायत्तता स्वतन्त्रता र तटस्थता जोगाउन सकेनौं भने सहकारी समाप्त हुन्छ । मार्कोसको तानासाहीका बेला धेरै सहकारी संस्थाहरू धारासाही भए । २० हजार भन्दा धेरै सहकारी संस्थाहरू रूग्ण हुँदै गए । सहकारीले लोकतन्त्रलाई सवल बनाउँछ । लोकतन्त्रले सहकारीलाई पनि सवल वनाउछ । तर तानासाही व्यवस्थाले असमानता, गरीवी र पछौटेपनलाई जन्म दिन्छ ।”

वास्तवमा फिलिपिन्सको त्यसबेलाको सहकारीप्रतिको सकारात्मक दृष्टिकोण नहुँदाको परिणाम आज पनि असमानता, अभाव र गरीवीमा बाँच्ने जनसंख्या ठूलै देखिन्छ । तानासाही राज्य व्यवस्थाले विकास हैन विनास गर्छ भन्ने एउटा राम्रो उदाहरणको रूपमा फिलिपिन्सलाई लिन सकिन्छ । सन् १९६० देखि सन् १९९० सम्मको अलोकतान्त्रिक राज्यव्यवस्थाका कारण सन् १९५० मा पूर्वी एशियाको जापानपछि दोस्रो सबैभन्दा धनी र विश्वको २० औं धनी देशको रूपमा रहेको फिलिपिन्स अहिले धरै पछाडि धकेलिएको छ । भूमिसुधार, सहकारी र शिक्षा क्षेत्रको भरपर्दो विकासका कारण एशियाका अन्य देश जापान, दक्षिण कोरिया र ताइवानले धेरै प्रगति गरे । फिलिपिन्समा मार्कोस तानासाहीका बेला लोकतान्त्रिक आधार कमजोर भई राज्य नियन्त्रित र निर्देशित सहकारी भएकाले सन् १९६० देखि सन् १९९० सम्मको अवधीमा सहकारी आन्दोलन कुुण्ठित भएर रहनु परेको थियो । तर सन् १९९० पछि सहकारी आन्दोलनले क्रमशः फस्टाउने मौका पायो । सन् २००८ मा लागू गरिएको फिलिपिन्स कोअपरेटिभ कोड तय भएपछि सहकारी दर्शन, सिद्धान्त र मूल्य, मान्यताको आधारमा सहकारी क्षेत्रले क्रमशः गति लिन थालेको भएतापनि अझै सहकारी क्षेत्रमा भएको समस्या समाधानका लागि धैरै गर्न बाँकी रहेको छ ।

सहकारी अत्यन्त प्रभावकारी तथा लोकतान्त्रिक सामाजिक व्यवसाय हो । सहकारीले सामाजिक न्याय र उत्पादकत्व वृद्धिलाई सँगसँगै अघि बढाउन चाहान्छ । सहकारी र लोकतन्त्र एक अर्काका परिपूरक हुन् । यसै सन्दर्भमा दोश्रो विश्वयुद्ध शुरू हुनु अघि इटालीको मूसोलिनी, जर्मनको हिटलर र जापानको तोजोले सबैभन्दा पहिले सहकारी संस्थाहरू माथि नियन्त्रण गरेका थिए । सहकारीमाथि नियन्त्रण गरून्जेल सहकारीका अगुवा बाहेक अरूले खुशी मनाए । पछि जब दोश्रो विश्वयुद्धका युद्ध पिपासुहरूले आम रूपमै लोकतन्त्रको घाँटी निमोठने र चरम तानासाही लादी क्रमशः फासिस्ट चरित्र प्रस्तुत गर्न थाले । त्यसपछि मात्र अरू पक्ष व्यूझियो । जतिखेर व्यूझियो त्यतिखेर समय वितिसकेको थियो । दोश्रो विश्वयुद्धका क्रममा करोडौं निर्दोष नागरिक मारिन थाले त्यतिवेला ढिला भैसकेको थियो । यसले पुष्टी गर्छ, सहकारी आधार बलियो हुनु नै लोकतन्त्रको आधार बलियो हुनु हो ।

 

नेडाक वैठकमा सहभागिता जनाउनुको अर्थ

नेडाकको बैठक, अन्तर्राष्ट्रिय सहकारी महासंघको वैठक, अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रको वैठकमा भाग लिनुको अर्थ अनुभव आदान प्रदान गर्नु, आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु र अरूका अनुभव ग्रहण गर्नु, आर्थिक सामाजिक, सांस्कृतिक विषयमा छलफल, मन्थन र अग्रगामी सोचको विकास गर्नुका साथै सामाजिक न्याय र उत्पादकत्व वृद्धिका आधार निर्माण गर्ने र आफ्नो देशमा प्राप्त अनुभव अन्य देशमा पु¥याउनु र अन्य देशको अनुभव आफ्नो देशमा भित्रयाउनु हो ।

१९ जनवरी २०१६ मा वैककपोष्ट दैनिकमा वनवारा सानाराले लेखेको लेख पढ्ने मौका मिल्यो । यिनी थाइलेण्ड विकास अनुसन्धानका रिसर्चर फेलो हुन् । यिनले सन् २०१२ मा रूचीर शर्माले लेखेको प्रसिद्ध पुस्तक “ब्रेकआउट नेसन्स” मा प्रस्तुत बिचार उल्लेख गर्दे भनेकी छिन्– “जुन देशले दशकभरी जन्मदरलाई राम्रो दरमा निरन्तर लान सक्छ ती देशले आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्दछन् । तर त्यसका लागि समग्र राज्यको एकाग्र, एकीकृत र निरन्तर प्रयास जरूरी हुन्छ । थाइल्याण्डको वाणिज्य मन्त्रालयले  ‘टे«डिङ नेसन्स” अर्थात व्यापारीक हब बनाउने निर्णयलाई शंकाको दृष्टिले हेरिएको छ ।”

उनले सारमा भनेकी छिन्–

  • व्यापारिक राष्ट्र अर्थात ट्रेडिङ नेसन बनाउनका लागि देशको क्रस कटिङ सबै मन्त्रालय, विभागको नीतिमा एकरूपता आवश्यक पर्छ ।
  • व्यापारिक साझेदार छिमेकी राष्ट्रहरूसँग सकारात्मक र सहयोगात्मक नीति र व्यवहार जरूरी हुन्छ ।
  • देशको श्रमशक्तिको उत्पादकता प्रतिस्पर्धी र क्षमतावान हुनुपर्छ ।
  • व्यापार र भाषा अत्यन्त सम्बन्धित विषय हो, अंग्रेजी लगायत भाषामा दखल भएको जनशक्ति हुने र नहुनुमा धेरै फरक पर्छ ।
  • यसका लागि व्यापार सम्झौता, पारवहन सम्झौता, कर सम्बन्धी प्रावधान, भंसार कर, गुणस्तरिय वस्तु प्रतिस्पर्धी हुनु पर्दछ ।
  • समग्रमा नीतिगत, कानूनी, व्यवहारिक र विक्रयकलामा पारंगत हुनु जरूरी छ ।
  • हरेकले आफ्ना समस्या समाधान गर्नुपर्छ, कमजोरी हटाउनुपर्छ , विश्वास आर्जन गर्नुपर्छ, क्षमता बढाउनुपर्छ अनि मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।
  • चौथो औद्योगिक क्रान्ति अर्थात फोर्थ इण्डिष्ट्रियल रिभलूसनका लेखक तथा वर्ड इकनमिक फोरूम (World Economic Forum) का संस्थापक अध्यक्ष प्रा. कलाउस स्चाव (Prof Klaus Schuab) ले भरखरै स्वीजरलेण्डको डाभोसमा भएको वल्र्ड इकनमिकल फोरूममा भनेका छन्, रोवोटको बिकास र बिस्तारले सन् २०२० सम्ममा १ करोड १० लाख व्यक्तिको रोजगारी गुम्नेछ, यसरी रोजगारी खोसिनेमा महिला र कम दक्षता भएका युवा पर्छन् ।
  • यस्तो अवस्थामा सम्पूर्ण सहकारीकर्मीले कसरी आफूलाई सक्षम बनाउने हो त्यसका लागि सतर्क र क्षमता वृद्धि गर्नुपर्ने हुन्छ । विज्ञान र प्रविधि मानव जीवनको अत्यन्त सहयोगी साधन हो । विश्व विकासको दौडमा जुन समाज र देशले विज्ञान र प्रविधिको आविष्कार गहण र बिस्तार गर्न सफल भए ती देशले विकासमा फड्को मार्न पनि सफल भए भने सँगसँगै भौतिक र मानव संशाधनको पनि विकास गरे । रोजगारी गुम्छ भनेर जुन देशले विकसित आविष्कारलाई अपनाउन सकेनन् ती देश पछि परे । सहकारी दर्शन, सिद्धान्त, मूल्य, मान्यतालाई अपनाउँदै, विकसित विज्ञान र प्रविधिलाई अधिकतम उपयोग र प्रयोग गर्न सहकारी अघि बढ्न जरूरी छ ।

हाल नेपालमा अरबौंको मोवाइल, कम्प्युटर लगायतका विद्युतिय बस्तुहरू उपयोगमा ल्याएका छन् । २० वर्ष पहिले हुँदै नभएको मोबाइल पसल अहिले दाल, चामल पसलभन्दा बढी छन् । त्यसलाई प्रयोग गर्ने, मर्मत गर्ने, परिचालन गर्ने जनशक्तिको महत्व बढेको छ । यो त एउटा उदाहरण मात्र हो । त्यस्ता खाले धेरै नयाँ क्षेत्रमा ध्यान दिएर सहकारीले आफ्नो कार्यक्षेत्र विकास र विस्तार गर्नुपर्छ । उपभोक्ता सहकारीले केवल दाल, चामल पसलमा अल्मलिनु हुँदैन, त्यसरी अल्मलिए सहकारी पछि पर्छ । त्यसकारण उत्पादन, वितरण र उपभोग प्रणालीमा आएको परिवर्तनलाई सम्पूर्ण सहकारीकर्मीले अपनाउने र अगुवाई गर्नुपर्छ । मिस्टर क्लाउसको भनाईको सार पनि यही हो ।

 

फिलिपिन्समा सहकारी संस्थाको अवलोकन

२० र २१ जनवरी २०१६ मा निम्नानुसारका सहकारी संस्थाहरूको अध्ययन अवलोकन भ्रमणमा व्यस्त भयौं ।

  • कोकनट सुगर कोअपरेटिभ
  • मास स्पेस कोअपरेटिभ डेभलपमेन्ट सेन्टर
  • नर्थ मिण्डनाओ डेरी फेडेरेसन कोअपरेटिभ
  • जनरल इन्स्योरेन्स कोअपरेटिपभ लाइफ एण्ड जनरल इन्स्योरेन्स
  • लिनाबु एगे्ररियन मल्टीपर्पस कोअपरेटिभ
  • डेल मोन्टे मोवोलो फररिच बुकिदोनाम कोअपरेटिभ
  • बुखिदन कम्प्युनिटि कोअपरेटिभ
  • फिलिपिन्स कोअपरेटिभ डेभरपमेन्ट अथरिटी ।

 माथि उल्लेखित सहकारी संस्थाहरूमा गएर त्यहाँको अवस्थाबारे जानकारी प्राप्त भयो । २०, २१ र २२ जनवरी २०१६ को पुरै समय व्यस्तताका साथ विते । विभिन्न संस्थाको अध्ययन गर्न जाँदा बाटाका दायाँबायाँ देखिएको दृश्यले फिलिपिन्सको सर्वसाधारण जनताको अवस्था, जीवनशैली, सांस्कृतिक स्तर, उत्पादन प्रणाली, उत्पादन ढाँचा, वितरण प्रणाली, वितरण ढाँचाबारे सामान्य अध्ययन गर्ने मौका मिल्यो । फिलिपिन्सको राष्ट्रिय तथ्याङ्कतर्फ ध्यान नदिदा पनि धेरै कुरा देख्न सकिने अवस्था थियो । एकातिर विशाल भिमकाय अरवपति र अर्कोतिर असंख्य जनता झूप्रोमा बसोबास गर्ने, बाँसले वारेका छाप्रा, आधासरो खियाले खाएर प्वाल पारेका जस्ताले छाएका छाप्रा जताततै देखिन्थ्यो । लवाइको हकमा ५” को कट्टु र गंजी मात्र लगाएका मानिस जताततै देखिन्थे । आम रूपमा दक्षिण एशियाका गरीवबस्ती जस्तै थिए जताततै । ३ लाख वर्गकिलो मिटर जमिनको क्षेत्रफल ७ हजार १ सय ७ वटा टापु, त्यस्ता टापुविचको समुन्द्री भाग पनि फिलिपिन्सकै मान्दा, त्यस्तो समुन्द्र २२ लाख वर्ग किलोमिटर भएकाले समुन्द्री खाना पनि उपलब्ध छ । १० करोड जनसंख्यालाई यो यथेष्ट नै हो । फिलिपिन्समा धान, मकै, नरिवल, आँप, सिमलतरूल, केरा, रूखकटहर लगायत फलफूल पनि प्रसस्तै हुने भूमि छ । तर जनताको ठूलो हिस्सा अत्यन्त गरीवीमा बाँच्न विवस छन् । समग्रमा वितरण प्रणाली अत्यन्त असमान छ ।

 

किन यस्तो गरीवी तन्त्र ?

गाउँमा मात्र हैन शहर बजारका सघनवस्तीमा पनि अत्यन्त रूग्ण खाले झुपडीहरू छन् । ति झुपडी कै आडमा विशाल होडिङ बोर्ड टाँगेर कम्पनीद्धारा उत्पादनको विज्ञापन गरिएको छ । १० करोड जनसंख्या भएको फिलिपिन्समा सबैथोक भएर पनि नभए जस्तो, श्रम गरेर पनि नगरे जस्तो, उत्पादन गरेर पनि नगरेजस्तो, लोकतन्त्र भएर पनि नभएजस्तो, आर्थिक लोकतन्त्र कता कता हराए जस्तो हामीलाई लाग्यो । जनताको जीवनस्तर, लवाई, खुवाई, बसाई देखेर हामीले फिलिपिन्स कोअपरेटिभ डेभलपमेन्ट अथरिटिका अध्यक्ष तथा नेडाक वोर्डका सदस्य अर्लेण्डो आर. रेभेनेरालाई किन यस्तो भनेर सोधेका थिर्यौ । उनकै शव्दमा “फिलिपिन्समा लोकतन्त्र छ तर आर्थिक क्षेत्रमा लोकतन्त्र छैन, सामाजिक क्षेत्रमा पनि लोकतन्त्र छैन, अझ भनौ आर्थिक, सामाजिक क्षेत्रमा लोकतन्त्रको भेटघाट नै भएको छैन । फिलिपिनो नागरिकले आर्थिक समानताका लागि धेरै रगत बगाए तर प्राप्त गर्न सकेनन् । यो देशमा सरकार, सुरक्षाकर्मी र बहुराष्ट्रिय कम्पनी बिच साँठगाँठ भएको छ । आपसी स्वार्थका लागि ती तिनै थरी एक ठाउँमा उभिन्छन् र सर्वसाधारण श्रमिजीवी जनतालाई एक्लै पार्छन । यिनका विरूद्ध धेरै खाले संघर्ष ग¥यौ तर पार लागेन । अब हाम्रो अभियान सहकारी मार्फत संगठित भएर जनताका अधिकार स्थापित गर्नेतर्फ अघि बढेका छौं । (अब सहकारी, सहकारी फेरि पनि सहकारी नै सामाजिक न्याय प्राप्त गर्ने माध्यम ठानेका छौं ।) सहकारीमा पूँजी हैन सदस्यको स्थान माथि हुन्छ । पूँजीको मत हैन सदस्यको मत निर्णायक हुन्छ । यसमा जुनसुकै जात, भाषा, धर्म, संस्कृति, राजनैतिक आस्थाका भएपनि एकाकार भएर अघि बढ्न सकिन्छ । त्यसैले अब सहकारी मार्फत परिवर्तन गर्ने अठोट गरेका छौं ।”

उनले अझै जोड दिदै भने– “भिण्डानाओ र कागायाना दे ओरोका आमजनताले यो क्षेत्रलाई सहकारीको राजधानी बनाउँदै छन् । अहिले देशको ७० प्रतिशत जमीन मल्टिनेशनल कम्पनीको अधिनमा छ । करोडौं किसानसँग जमीन छैन । केहि जमीन कम्पनीसँग लिजमा लिएर जनताले जिविका चलाइरहेका छन् । यस्तो स्थितिलाई बदल्न सहकारीले प्रयास थालेको छ ।”

वास्तवमा फिलिपिन्स कोअपरेटिभ डेभलपमेन्ट अथरिटिका अध्यक्षको उक्त भनाई निक्कै मार्मिक र मर्मस्पर्शी छ । जनताको अधिकार, आर्थिक, सामाजिक समानता तथा प्राकृतिक श्रोत, जमीन, जल, जंगल, जडिबुटीमा आफ्नो अधिकार स्थापित गर्नका लागि रगत बगाए तर स्थिति त्यस्तो भएन । बोल्ने, लेख्ने, सभा सम्मेलन गर्ने, चुन्ने चुनिने राजनीतिक अधिकारले मात्रै समस्या समाधान हुँदो रहेनछ ।

सबैका लागि लोकतन्त्र नभैकन सधैका लागि लोकतन्त्र हुँदो रहेनछ । सबैका लागि लोकतन्त्र हुन, आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा लोकतान्त्रिकरण हुन जरूरी हुँदो रहेछ । फिलिपिन्सबाट हामी नेपालीले सिक्नैपर्ने पाठमध्ये यो महत्वपूर्ण पाठ हो । नत्र, भएर पनि नभए जस्तो अवस्थाबाट जनता गुज्रनु पर्दो रहेछ ।\

अन्तमा

सहकारीवारे अनेक खाले भ्रमहरू समाजमा देखा परेका छन् । सहकारीको आधारभूत सिद्धान्तका प्रणेता रबर्ट ओबेन, डा. विलिमय किङ्ग, विलियम थम्पसन, यफ.डब्लु. राइफाइसन लगायतले मार्गदर्शन गर्नुभयो । सन् १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएपछि आजसम्म सहकारीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्य प्रगतिको आधिकारिक धारणा त्यही हो । गत १० वर्षदेखि लगातारको अध्ययन, विश्लेषण, अनुसन्धान पछि भरखरै सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय सहकारी महासंघको जनरल एसेम्बलीले पारित गरेको सहकारीका सात सिद्धान्तवारेको व्याख्या नै आधिकारिक हो र यो सिद्धान्तलाई अन्तिम रूप दिन नेपालको सहकारी अभियानको पनि योगदान रहेको छ । नेपालको प्रथम सहकारी महासम्मेलन २०१४ ले यसलाई पुष्टि पनि गरेको छ । यसकारण नेपालको सहकारी विकास र विस्तारमा कून स्कूल अफ थट भनेर अल्मलिनु पर्ने अवस्था छैन ।

व्यक्तिगत रूपमा टिकाटिप्पणी गर्नु, विचार मन्थन गर्नु, गर्न पाउनु लोकतन्त्रको विशेषता हो । तर नेपालको सहकारी चौवाटोमा हैन, मूलबाटो बनाएर अघी बढिसकेको छ । नेडाक वैठकमा यस्तो नेपालको तर्फबाट प्रष्ट पारिएको छ र अब नेडाकले पनि सहकारी दर्शन, सिद्धान्त, मूल्य, मान्यता अनुसार एशिया प्रशान्त क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकास र विस्तारमा अघि बढ्नु पर्दछ । अब समयलाई गुजुल्टो पारेर फूकाउँनै नसकिने संजाल हैन प्रष्ट ढंगले सामाजिक न्याय र उत्पादकत्व वृद्धिका लागि अघि बढ्नु पर्छ । निजी क्षेत्रको जस्तो पूँजीद्वारा सदस्यलाई नियन्त्रण गर्न हैन, सदस्यद्वारा पूँजीमाथि नियन्त्रण गर्ने सहकारीको मूल आधारलाई पक्रनु पर्छ । सबै सहकार्य सहकारी होइन, सहकार्य र सदस्यको ताकतविना सहकारी अघि बढ्न सक्तनै भन्ने कुरामा सबै प्रष्ट हुनै पर्छ ।

एशिया प्रशान्त क्षेत्र प्राकृतिक श्रोत र मानव श्रोत दुवै भएको क्षेत्र हो । त्यसलाई परिचालन, वितरण र व्यवस्थापनमा भएको व्यक्तिवादी चिन्तन, चरित्र, नीति र व्यवहारलाई व्यापक मात्रामा बदल्नुपर्छ र बदल्न सकिन्छ । त्यो बदल्ने उपाय भनेको छरिएको पूँजी, श्रोत र साधनलाई नदीको पानीबाट बिजुली निकाल्न सकिए जस्तै सहकारी माध्यम र त्यस्तै प्रकारको उर्जाबाट सामाजिक न्याय र उत्पादन वृद्धिको आधार निर्माण गर्न सकिन्छ । नेडाक र राष्ट्रिय सहकारी संघको हातेमालो यहि सैद्धान्तिक जगमा उभिनु तथा उम्याउनु पर्छ । यस दिशामा नेपालका सबै सहकारी संघ÷संस्था र अगुवाहरूले आफूलाई अघि बढाउनु पर्छ । बौद्धिक व्यक्तिहरू, लेखकहरू, अर्थशास्त्रीहरू, विश्लेषकहरू र राज्यका सम्बन्धित निकायले यसको महत्ववोध गर्नुपर्छ । सहकारी विकासका लागि तालिम, प्रशिक्षण, पूर्वाधार निर्माण र विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्छ । अनि मात्र सहकारी क्षेत्रको गुणात्मक विकास भई जनताको आर्थिक, सामाजिक, तथा साँस्कृतिक विकासमा टेवा पुग्दछ ।

Recent News

प्रकाशनहरु