५९ औं राष्ट्रिय सहकारी दिवस सफल पार्न योगदना गर्ने सबै प्रति आभार प्रकट गर्दछौं ।

 

“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुख्य ध्येयका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ साल चैत्र २० गते राष्ट्रव्यापि रुपमा भष्यताका साथ सम्पन्न भयो । देशका सात वटै प्रदेशका प्राय सबै जिल्लामा कार्यक्रम भएको छ । झपादेखि कञ्चनपुरसम्म र पशुपति नगरदेखि झूलाघाट सम्मका प्राय सबै जिल्लाले राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाए । अधिकांस स्थानमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र डिभिजन सहकारी कार्यालयसँग मिलेर संयुक्त रुपमा मनाए । यो वर्षको मूल थिम (ध्येय)का आधारमा, विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको खबर प्राप्त भएको छ । जस्तै:  निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, रक्तदान कार्यक्रम, सभा गोष्ठी, वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण, विभिन्न विषयका उत्कृष्ट व्यक्तिहरुमा पुरस्कार, सम्मान र कदर–पत्र वितरण गरेर प्रोत्साहन गर्नुभयो । २० चैत्रमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारका पोशाक, झाकि, बाजागाजाका साथ र्याली र सभाहरु आयोगना भए । मोरङ, झापा, कास्की, काठमाडौं, ललितपुर,  नेपालगंज,  हेटौंडा लगायत देशका प्राय सबै जिल्लामा हजारौं हजारको र्याली सहित कार्यक्रम भए । इलाम, पाँचथर, दोलखादेखि मुगु सम्मका जिल्लामा भएको उत्साहवर्धक कार्यक्रममा लाखौं सहकारीकर्मी आ–आफ्नो व्यानरका साथ सडकमा उत्रिए । रक्तदानमा नेपालगंजले ३३४ पिन्ट रक्तदान गरेर देशै भरिको रक्तदानलाई उछिनेको छ । यो कार्यक्रममा अगुवाई गर्ने, साथ सहयोग दिने, सहभागि हुने,  रक्तदान लगायतका कार्यक्रममा योगदान गर्ने सहकारीका अगुवा र सहभागि,  सरकारका उपप्रधानमन्त्री देखी लिएर सबै तहका जिम्मेवार व्यक्ति, संघसंस्था र सहभागि सबैमा हार्दिक सम्मान जाहेर गर्न चाहन्छौं र धन्यवाद दिन चाहन्छौं ।

Keshab Prashad Badal

केशवप्रसाद बडाल
व्यवस्थापिका संसद सदस्य,
अध्यक्ष, राष्ट्रिय सहकारी संघ,
अध्यक्ष, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद

 

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी

आर्थिक विकासका बारेमा :
आर्थिक विकासका बारेमा कुनै एक देश र एक स्थानको मोडेलले देशै भरि काम गर्छ भन्ने होइन । तर आधारभूत रुपमा सम्बन्धित देशको ठोस परिस्थितिको ठोस विश्लेषणबाट निर्धारण गरिनुपर्छ । हाम्रो देशको सन्दर्भमा र इजरायल, संयुक्तराज्य अमेरिका, वङ्गलादेश, रुस र क्यानडाको अनुभवबाट सिक्ने कुरा अनेक छन् तर ठ्याक्कै उक्त देशको आर्थिक बिकासको मोडल अनुकरण गर्न असहज हुन्छ । नेपालको इतिहास र अर्थ संस्कृतिको हजारौं वर्षको इतिहास छ भने इजरायलले देशको आकार लिएकै केहि दशक मात्रै भएको छ । अमेरिका क्यानडा पत्ता लागेकै सन् १४७२ मा हो भने नेपालको हजारौं वर्षको इतिहास छ । रुस १४ करोड जनसंख्या र १.७२ करोड वर्ग किलोमिटर क्षेत्रफल छ । वङलादेशको क्षेत्रफल १ लाख ४७ हजार ५७० वर्गकिलोमिटर मात्रै छ भने जनसंख्या रुसको भन्दा ३ करोड वढि छ । आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय र ऐतिहासिकतामा भएको फरकताले भौगोलिक आकार वातावरणीय विविधता, भौगोलिक विविधता, साँस्कृतिक र मनोवैज्ञानिकताले धेरै कुराको निर्धारण गर्दछ ।


नेपालका ८० को दशक पछि आर्थिक समायोजन कार्यक्रम सुरु भयो । यो नेपालको मौलिकतामा भन्दा अन्तराष्ट्रिय दात्रि निकायको प्रेसरमा यो कार्यत्रम सुरु भयो । यो कार्यक्रमको  मुख्य विषय यस्तो थियो । सरकारी खर्च कटौति गर्ने, स्थानीय सरकारको पनि खर्च कटौति गर्ने, नेपाली रुपैयाको अवमूल्यन गर्ने, आधारभूत क्षेत्रमा सबसिडी घटाउनुका साथै क्रमस हटाउने, आयातमा कोटा प्रथा पुरै हटाउने, भन्सार दर घटाउने, व्याजदर नीतिमा परिवर्तन गर्ने, कृषि वस्तुको मुल्यमा पुनरविचार गर्ने, राज्यको शक्ति कटौति गर्ने, बजारशक्तिलाई बढी अधिकार दिने, निजीकरण उदारिकरण र बजारीकरणमा जोड दिने, आदि नीतिमा देश गएपछि विकासको प्रारम्भीक चरणमा भएको देशहरु र हाम्रो देशको विकासमा झट्का लाग्यो । यसले गर्दा हाम्रो देश र हाम्रै जस्तो अवस्था भएका अरु देशमा पनि खास गरि कृषि क्षेत्रमा महिलाको क्षेत्रमा नकारात्मक स्थितिको श्रृजना भयो । अहिले बजेट भन्दा बढी व्यापार घाटा, श्रम उमेरका उर्जावान उमेरका कुल श्रमशक्तिको आधा हिस्सा वैदेशिक रोजगारिमा गएका छन् । विकास गर्नु छ नेपालमा तर विकास नीति डोनरहरु बनाउछन, अन्तराष्ट्रिय मुद्राकोष लगायतले गर्छन । उनीहरुले जोजानेका छन्, जे गर्दा उनीहरुको संस्थाले निर्धारण गरेको नीति अनुकूल हुन्छ तीनले त्यहि गर्छन गरेका छन् र हामीले अहिलेको यसैको परिणाम भोगी रहेका छौं । सबै कुरा बजारले निर्धारण गर्छ तर बजार हाम्रो हातमा छैन । किसानले उत्पादन गर्छ उसले मूल्य तोक्न सक्दैन । डोल्पाको एउटा गाविस जत्रो सिंगापुर, हङकङ देखाएर नेपालको विकास नीति तय गर्न खोजिन्छ अनि कसरी विकास हुन्छ ?


प्राकृतिक अवस्था, भौगोलिक अवस्था, स्थानीय मानव मनोविज्ञानमा आएको परिवर्तन, उत्पादन प्रणालिमा आएको परिवर्तन उत्पादन औजार, उत्पादन वितरणमा आएको परिवर्तनलाई ग्रहण गर्दै उपभोगमा आएको परिवर्तन सँग गांसिदै आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना, गरिवी निवारणलाई आधार मानेर गरिनुपर्ने अपनाउनुपर्ने कार्य नगरिएको कारण आर्थिक विकासमा अपेक्षीत विकास हुन सकेन । उत्पादक शक्ति क्रमस निरास भयो, आफ्ना कृषि उत्पादन, पशुपालन, औद्योगिक कच्चा पदार्थ उत्पादन, घरेलु तथा साना उत्पादनमा लागेका श्रमशक्ति खुल्ला आयातका कारण प्रतिस्पर्धामा टिक्न नसकेर आफ्नो पेशाका सामग्री कौडिको मूल्यमा विक्रि गरेर बैदेशिक रोजगारमा जान थाले । एउटा परिवार एउटा व्यक्तिले जति घाटा परेपनि काम गरिरहन सक्दैन । उसको धैर्यता रहुन्जेल गर्छ नसकेपछि छाड्छ । हाम्रो देशको उर्वरक कृषि भूमिको तीनलाख हेक्टर भन्दा बढी जमीन बाँझो रहने र अरवौको कृषि वस्तु आयात गर्नुपर्ने परिस्थितिको मूल कारण हाम्रै देशका उत्पादक शक्तिलाई उत्साहित र प्रोत्साहित गर्न नसकेर हो । जुन देशमा उत्पादक शक्ति निरास हुन्छन् त्यस्तो देशमा विकासले गतिलिन सक्दैन ।

विकास बारे धारणा :
विकासका बारेमा भिन्ना भिन्नै धारणा छन्, नेपालकै सन्दर्भमा सन् १९९१ मा कूल राष्ट्रिय उत्पादन १ खर्ब चानचनु थियो, सन् २०१४ मा १९ खर्ब २८ अर्ब भयो । यसले विकासको अंक थपिएकै छ तर विकास भनेको केवल कूल राष्ट्रिय आय ९न्ल्ए० अथवा कूल ग्राहस्थ उत्पादन ९न्म्ए० मात्रैलाई हेरेर पुग्दो रहेन छ । मानव विकास सुचाङ्क, खुसीको सुचाङ्क (हेप्पीनेस), उत्तम जीवनस्तरको सुचाङ्क, पूर्वाधार विकासको सुचाङ्क, देशको विभिन्न भागमा भएको विकास सुचाङ्क, नेपालका कुनै जिल्लामा प्रतिव्यक्ति वार्षिक आय २७०० डलर भन्दा बढी छ, बाजुरामा  ५०० डलर भन्दा घटि छ, देशको सालाखाला ७७२ डलर प्रतिव्यक्ति आय छ । जे जति मात्राम वृद्धि बढेसँगै समानता मूलक र दिगो प्रकारको वृद्धि हुन सकेको छैन । अर्थशास्त्री थोमस पिकेटिले लेखेको पुस्तक ‘एक्काइसौ शताबदीमा पुँजीवाद’ मा लेखेका छन्–‘विश्वमा विकासको मात्रा सँगै असमानता बढेको छ । सम्वृद्धि बढेको छ तर दिगो विकास भएको छैन’ विकासले आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार यी ६ वटा विषय आजको युगको अति आवश्यक विषय हो । यो क्षेत्रमा हाम्रो विकास कता गएको छ । एउटा विद्यार्थी र अर्काे विद्यार्थी बीचको अन्तरको मात्र हुन्छ तर कति फरक छ ? लाल दरवार स्कूलमा पढ्ने विद्यार्थी र हुम्लाको मैला गाविसमा पढ्ने समानतहको कक्षाका विद्यार्थीले समान स्थानमा कसरी प्रतिस्पर्धा गर्ला ? एउटा दुर्गम गाँउको किसानले पाउने स्वास्थ्य सुविधा र सहरको किसानले पाउने स्वास्थ्य सुविधामा अन्तर होला तर त्यो अन्तर कतिसम्म स्वीकार्य तहको मान्ने ?


संविधानले राज्यको आर्थिक उद्देश्यमा प्रष्ट रुपमा धारा ५० (३) मा भनेको छ ‘सार्वजनीक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधान र श्रोतको अधिकतम परिचालनद्धारा, तिब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्तगर्दै शोषण रहित समाजको निर्माण गर्न समाजवाद उन्मुख स्वतन्त्र र सम्बृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’ भनेको छ । यसै गरी संविधानको धारा ५१ को (घ) को अर्थ, उद्योग र बाणिज्य सम्बन्धि नीतिको (१) मा भनेको छ ‘सार्वजनीक, निजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्पmत राष्ट्रिय अर्थतन्त्र सुद्ध गर्ने’ भनेको छ ।
उक्त संविधानको उद्देश्य प्राप्तिका लागि पनि आर्थिक विकासको मोडल सहकारी, निजी र राज्य तीनै क्षेत्रले गतिवान ढंगले अघि बढ्ने बढाउने खाल्का ऐन, कानुन, नीति, नियम र कार्यक्रम आउन र ल्याउन जरुरि छ । राष्ट्रिय सहकारी संघले “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” लाई ध्येयको रुपमा राख्नुको तात्पर्य सहकारीमा आवद्ध ५१ लाख सेयर सदस्य, ३ लाख भन्दा बढी संचालक समितिका पदाधिकारी सदस्य, लेखा समितिका संयोजक, सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्र भित्र आम सेयर सदस्य र आम जनसमुदायमा यो उद्देश्य अनुरुप सक्रियता पूर्वक अघि बढ्न बढाउन आवश्यक छ ।


हामीसँग संसारमा पाइने सबै खाले हावापानि छ । संसारमा उत्पादन हुने सबै खाले अन्न, सागपात, फलफूल, तरकारी, गेडागुडी, बनस्पति र जडीबुटि उत्पादन हुन्छ । जलश्रोत र वनश्रोतको भण्डारै छ । कृषि वन र जलश्रोत मात्र होइन संसारमा कहि पनि नपाइने हिम शिखरहरु छन् । गौतम बुद्धको जन्म थालो, सीताको जन्मथलो, अनेक तालतलैया र मनोरम दृष्य र मठमन्दिर, गुम्बा, चैत्यहरु छन् । पर्यटकीय मनोरमको हिसाबले अतुलनिय छ । २०७० सालमा भएको जनसाँख्यीक सम्मेलनमा प्रस्तुत दर्जनौ कार्यपत्रहरुले प्रष्टयाएको छ । १५ वर्षदेखि ५९ वर्ष उमेरका सक्रिय जनशक्ति कुल जनसंखयाको ५७ प्रतिशत छ । यो मानव शक्ति आफैमा राम्रो उर्जा हो । यो स्थितिमा सबै श्रमशक्तिलाई परिचालन गर्दा मानव संसाधनको हिसाबले नेपाल निकै राम्रो सम्भावना भएको देशमा पर्छ । आवश्यकता छ आम श्रमजीवि जनतामा, आत्म विश्वास जगाएर उत्पादनका साधन विहिनमा उत्पादनको साधनको पहुँच पु¥याएर, आजको आवश्यकता अनुसारको पुँजी, प्रविधि, पूर्वाधार र बजार कनेक्टभिटि बढाएर सहकारी, निजी र सार्वजनिक समेत सबै क्षेत्रलाई गतिशिल बनाउने आधार निर्माण गर्न जरुरि छ । गतिशिलतामा अवरोध हुने खाल्का सबै तगारा पन्छाएर आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रको विकासमा प्रोत्साहन जरुरि छ, उत्साह र आशावादीताको विकास गर्न जरुरी छ । राज्यका ऐनले, राज्यका नीतिहरुले, राज्यका कार्यक्रमले, उक्त गतिशिलतामा उर्जा दिन पुँजी, प्रविधि र पूर्वाधारमा लगानी गर्न जरुरी छ ।

सामाजिक रुपान्तरणको क्षेत्रमा :
सामाजिक रुपान्तरणको सवाल अती गहन सवाल हो । सामाजिक रुपान्तरण नगरिकन समाज बदलीदैन । ठूला ठूला तानासाहलाई निस्थापन गर्न धैरे समय नलाग्न सक्छ तर सामाजिक रुपान्तरण गर्न हामी सबैले धेरै प्रयास गर्दा पनि अलि बढी समय लाग्छ । नेपालमा २००७ सालको (सन् १९५०) को क्रान्ति धेरै नै महत्वपूर्ण क्रान्ति हो । यो क्रान्तिका लागि धेरै ठूलो बलिदान भएको छ । यो क्रान्तिले प्रजातन्त्र ल्यायो ।  बोल्ने, लेख्ने, सभा–सम्मेलन गर्ने, चुन्ने–चुनिने अधिकार स्थापित ग¥यो । यो अत्यन्त महत्वपूर्ण उपलब्धि हो तर आर्थिक क्षेत्रमा यसले लोकतान्त्रिकरण गर्न सकेन । सामाजिक क्षेत्रमा लोकतान्त्रिकरण गर्न सकेन, साँस्कृतिक क्षेत्रमा लोकतान्त्रिकरण गर्न सकेन, यसकारण सबैका लागि लोकतन्त्र भएन र सधैंका लागि पनि हुन सकेन सत्रसाल आयो ।


२०४६ सालमा भएको लोकतान्त्रिक आन्दोलनले पनि सबैका लागि लोकतन्त्र स्थापित गर्न सकेन फेरी २०६२÷६३ को आन्दोलनको आवश्यकता प¥यो । अबको लोकतन्त्र सबैका लागि र सधैका लागि हुनका लागि समाजिक रुपान्तरणको आवश्यकता छ । राजनीतिक परिवर्तनले बाटो देखाउने हो । सामाजिक रुपान्तरणको लागि गर्नुपर्ने धेरै काम बाकि रहन्छ । विकासका लागि हामीले गर्नुपर्ने धेरै काम बाकि रहन्छ । यो कार्यमा सहकारी क्षेत्रले खेल्नु पर्ने धेरै काम बाकि रहन्छ । यो कार्यमा सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका धेरै छ । सहकारीमा प्रत्येक सेयर सदस्य सार्वभौम हुन्छन । त्यहाँ पुँजिद्धारा सदस्य नियन्त्रित हुँदैन, सदस्यद्धारा पुँजी माथि नियन्त्रण गर्छन । सहकारी सामाजिक व्यवसाय भएकाले यसले सामाजिक न्याय र उत्पादकत्व वृद्धिलाई सँगसँगै अघि बढाउन चाहन्छ ।


सहकारी अत्यन्त लोकतान्त्रिक, सामाजिक व्यवसाय भएकोले यसले सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउन सक्छ र निभाउनु पर्छ । लोकतन्त्र उपरिढाँचामा मात्र होइन आधारभूत तहमा पनि त्यतिकै जरुरि छ । आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा, लोकतान्त्रिक आधार निर्माण गर्न सहकारी दर्शन, सिद्धान्त, मूल्य मान्यता र आचरणलाई प्रत्येक सदस्य र समाजमा स्थापित नर्ग जरुरि छ । समान हुन, समानता स्थापित गर्न, त्यसलाई दैनिक जीवनको व्यवहारमा उतार्न निरन्तरको प्रयासले मात्रै सम्भव हुन्छ । यसलाई स्थापित गर्न स्थानीय जनताको अर्थतन्त्रमा स्थान कहाँ छ ? आचार–व्यवहार, बोलिचालि र शैलिमा कहाँ छ ? भन्ने कुराले ठूलो महत्व राख्छ । अर्थतन्त्र, राजनीति, समाज, संस्कृति, धर्म आदिमा सिमित व्यक्तिको प्रभुत्व छ भने त्यसलाई व्यापक जनताको भूमिकालाई स्थापित गर्न बिचार व्यवहार र आचरणबाट समानताको बिन्दुमा ल्याउन सहकारीकर्मीले महत्वपूर्ण भूमिका खेलने र आम समुदायमा यस्तो गर्न प्रेरित गर्नु सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण कार्यको रुपमा लिनुपर्छ ।


अर्थतन्त्रमा, राजनीतिमा, समाजमा, संस्कृतिमा, विज्ञान र प्रविधिमा, उत्पादनका साधनमा, उत्पादन प्रणालिमा समाजका आम समुदायको सहभागिता र हक स्थापित गर्न गरिने प्रयासले सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्दछ ।
सामाजिक रुपान्तरणका लागि सबै क्षेत्रको भूमिका र योगदान आवश्यक छ । राजनीतिक दल, शिक्षक, प्राध्यापक सबै खाले शिक्षालय, निजी सरकारी, अर्धसरकारी, प्रहरि, स्वास्थ्यकर्मी, इन्जीनियर, उद्यमी, व्यवसायी, नागरिक समाज, कर्मचारितन्त्र, स्थानीय निकाय, सांसद सबैले सामाजिक रुपान्तरणका लागि योगदान गर्नुपर्छ  ।


राष्ट्रिय सहकारी संघ समेत सबै केन्द्रीय संघ र राष्ट्रिय सहकारी संघले परिचालन गरेका, सिकाएका, प्रशिक्षण दिएका सहकारीकर्मी कस्ता छन् ? प्राध्यापक, शिक्षकले सिकाएका पढाएका विद्यार्थी कस्ता छन् ? नेताले पढाएका कार्यकर्ता कस्ता छन् ? प्रशासनिक संयन्त्रले सिकाएका पढाएका अफिसर कर्मचारी कस्ता छन् ? डाक्टर, इन्जिनीयर, वकिल, न्यायाधिस, प्रहरि, सेना भित्र कस्तो छ ? सामाजिक रुपान्तरणको सवाल निक्कै महत्वपूर्ण सवाल हो । प्रत्येकले म केका लागि समाजमा छु ? मेरो कर्तव्य के हो? मैले त्यो पुरा गरेको छु कि छैन ? भनेर प्रत्येकले आफैलाई सोध्ने उत्तर खोज्ने र रुपान्तरण हुने र समाज रुपान्तरणका लागि योग्य नागरिकको रुपमा स्थापित हुन जरुरि छ ।


भरखरै आएको एक तथ्याङ्कले भन्छ एक कक्षादेखी १० कक्षा सम्म भर्ना भएका बालबालिका मध्ये २ लाख ९८ हजारले बीचमै पढाइछाडे, यस्तो किन हुन्छ ? यसको आर्थिक, सामाजिक, साँस्कृतिक कारण खोज्ने र समाधानका लागि आ–आफ्नो स्थानबाट प्रयास गर्ने कार्य सामाजिक रुपान्तरणको एउटा कार्य हो ।  आज विद्यालय गएका छात्र–छात्रा लागु औषधीको सेवन समेत अनेक प्रकारका दुव्र्यसनमा फसेका छन् । यस्तो हुनबाट जोगाउन हामीले आ–आफ्नो कार्यक्षेत्र र समाजमा गरिने प्रयासको धेरै महत्व रहन्छ । दुव्र्यसनमा आफ्ना सन्तान फसेपछिको परिवारिक पिडा, सामाजिक पिडा अत्यन्त दुःखदायी हुन्छ, यस्तो अवस्था आउन नदिन गरिने प्रयास सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण विषय हो । आज दैनिक रुपमा सुर्ति जन्य पदार्थको सेवनका कारण ५० जना भन्दा बढीको अकाल मृत्यु भैरहेको छ । यस्तो अवस्थाले युद्धले भन्दा पनि बढी संख्याको मृत्यु हुनुले परिवार समाज र राष्ट्रको लागि भयानक समस्याको रुपमा प्रस्तुत छ । यस्तो अवस्थाबाट आफ्नो पंक्ति र आम समुदाय बीच रुपान्तरणको प्रयास हाम्रो पनि दायित्व भित्र पर्दछ ।


हामीले सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने धेरै काम छन् । हामीले हाम्रा संस्कार परिवर्तन गर्नुपर्छ । इतिहास र संस्कृतिका राम्रा कुराको रक्षा गर्नुपर्छ, कुसंस्कार र कुरितीलाई हटाउन पहल पनि गर्नुपर्छ । आफूलाई हिन्दु भन्छौं आफूजस्तै हिन्दुलाई अछुत भन्छौं भने त्यो भन्दा पाखण्ड के होला ? हाम्रो देशमा १३.८ प्रतिशत दलित समुदाय हुनुहुन्छ, व्यवहार र आचरणमा यो समुदाय माथिको विभेदलाई संविधानले अस्विकार गर्छ । तर व्यवहारमा आजपनि त्यस्तो छ भने समाज रुपान्तरण कसरी हुन्छ । समाज रुपान्तरणको यो महा अभियानमा सबै सहकारीकर्मी र आम समुदायले संकल्प गर्नुपर्छ, नेपाल आमाका सन्तान सबै उत्तिकै सम्मानीत छन् । यस्तै छाउपडिप्रथा, दहेजप्रथा, महिलामाथिको विभेद, हिंसा विरुद्धको जागरण ल्याउन समाज रुपान्तरणको महत्वपूर्ण विषयको रुपमा लिनुपर्छ ।


कतिपय ठाउँमा पुरुष तास खेलेर बस्छन्, महिलाहरुले घाँस काटेर गाईभैसी पालेर उत्पादन गरेको दुध बेचेर रक्सी खाएर आउने र तीनै महिलामाथी हातपात गर्ने गरेका घटना छन् । महिला पुरुषसँगै अफिस जान्छन, सँगै भेलापात गरेर आउँछन् घर पुगेपछि घरका सबै काम महिलाले मत्रै गर्नुपर्छ । यो सबै खाले विभेदकारी संस्कार संस्कृतिलाई हटाएर जुनसुकै जात, भाषा, धर्म, संस्कृति, लिङ्गका भएपनि समानताको संस्कार संस्कृति र शैलि विकास गर्न, सामाजिक रुपान्तरण गर्न हामी सबै लागि पर्नुपर्छ । यो नै आर्थिक विकास र सामाजिक रुपान्तरणको आधार हुनसक्छ । सहकारीका सम्पूर्ण संचालकहरु, लेखा समिति सदस्यहरु, सहकारीका सबै कार्यकारी प्रमुख, व्यवस्थापक तथा कर्मचारीहरु र आम समुदायमा सामाजिक रुपान्तरणको अभियानमा अग्रणी भूमिका निभाउन विनम्र अनुरोध पनि छ । संस्कार र सहकारी अन्तर सम्बन्धित छ, संस्कार विना सहकारीकर्मी हुन सक्दैन ।

Recent News

प्रकाशनहरु