संविधान र भारत

भारत र चीन हाम्रा दुई छिमेकी राष्ट्र हुन । नेपालको भारतसँग १८८० किलोमिटर र चीनसँग १४०८ किलोमिटर सिमा जोडिएको छ । भारतसँग खुल्ला सीमा छ तर चीनसँग खुल्ला छैन । भारतसँगको सीमा सरल भौगोलिक बनोट छ । चीन सँग विकट हिमाली भौगोलिक बनोट छ । भारतसँग खुल्ला सीमा भएकाले नेपाललाई सहज र जटिलता दुवै अवस्था छ ।

नेपालप्रति छिमेकीको चासो हुनु स्वभाविक हो, चासो र सुझावलाई सहज मान्नुपर्छ । तर ५९८ संविधानसभा सदस्यमध्ये ५३७ सभासद्को हस्ताक्षर र सभाअध्यक्षले प्रमाणीकरण गरेपछि यो गर त्यो गर भन्नु गलत हो । मित्र राष्ट्रका सुझावहरुलाई नराम्रो भन्नु हुँदैन तर प्रदेश सिमाङ्कनमा यो गर, जनसंख्याको आधारमा सिट निर्धारण गर, संसदीय निर्वाचन क्षेत्र निर्माण गर्दा यसो गर भन्नु गलत हो ।

 

नेपाल आर्थिक रुपले सबल नहोला, भूपरिवेष्टीता भएका कारण भारत भएर व्यापार गर्न बाध्य होला तर स्वाधिनता, स्वाभिमानका मामिलामा नेपाल सानो छैन । छिमेकीले नेपालको खासखास भेग र खासखास समुदायका बारेमा विशेष चासो राख्नु उचित होइन । भारतको हितका लागि नेपालीले स्वतन्त्रता संग्राम देखि हालसम्म पनि रगत पसिना बहाएका छन् । यसको तात्पर्य नेपालीको आफ्नै स्वाभिमान कमजोर छ भन्ने ठान्नु महा भूल हो ।

नेपालीले सात दशकको प्रयासमा जनताले जनताकै लागि आफ्नै जनप्रतिनिधि मार्पmत संविधान बनाएका छन् । ३ करोड नेपाली जनताको यो उपलब्धिमा संसारका सबै देशले स्वागत गरेका बेला भारतबाट पनि स्वागत समर्थन होस् भन्ने नेपाली जनताको चाहाना हो । तर भारतबाट त्यस्तो हुनसकेन । समय अझै छ, भारतबाट स्वागत आउनपर्छ । तराई, मधेस हामी नेपालीको मुटु हो । त्यहाँका समस्या हाम्रो हो । हाम्रो संविधानले त्यहाँका आधारभूत तहका जनतालाई अधिकार सम्पन्न बनाउन संविधानले धेरै कुरा समेटेको छ । बाकि असन्तुष्टिलाई क्रमशः सम्बोधन गर्दै जाने अठोट छ । यो हाम्रो परिवारबीचको समस्या हो । हामी आफै मिलाउन सक्छौं ।

संविधानले समेट्न बाँकी विषय समेट्दै जाने विषय हो । भारतकै संविधान पनि १०८ पटकभन्दा बढी संशोधन भएको छ । नेपाली जनताबीचको विश्वास आर्जन गरेका बर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वास गुमाउनु उपर्युक्त हुँदैन । सार्वजनिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधिनताका लागि ३००० वर्षदेखिको नेपाली इतिहास, नेपालीले कमजोर हुन दिने छैनन् । नेपाली जनता दुःखकष्ट र गरिबी व्यहोर्न सक्छन् तर स्वाभिमानमा चोट पुगेको सहन सक्दैनन् । भारतीय जनता र नेपाली जनता बीचको हार्दिकतामा चोट पुर्याएको राम्रो मान्दैनन् । तराईका प्रायः हरेक गाविसका जनताका समस्या बुझेर समाधानका लागि, कमैया मूक्तिका लागि दलित मुक्तिका लागि, भूमिहीन तथा सीमान्तकृत जनताको मुक्तिका लागि गत ४० वर्षदेखी संघर्ष गर्दै आएको एक अभियन्ता म पनि हुँ । दक्षिण तराईबाट मेचीदेखी महाकालीसम्म पदयात्रा गरेर त्यहाँका जनताको मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको एक व्यक्तिको हिसाबले त्यहाँका वास्तविक समस्या हल गर्न बाँकी जीवन पनि समर्पित भएर लाग्ने अठोट गरेको व्यक्ति भएकाले मैले यी कुरा प्रस्तुत गरेको छु ।